म्याग्दी/ अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटका कृषकले बेमौसमी बन्दाखेती गरेर वार्षिक एक करोड रुपैयाँभन्दा बढी रकम गाउँमा भित्र्याउने गरेका छन् ।
अनुकूल भूगोल र हावापानी, राम्रो बजारभाउ पाउने र आयआर्जन गर्न सकिने भएपछि पाउद्वारका बासिन्दाले बर्खामा कोदो, मकै रोप्ने बारीमा बन्दाखेती गर्न थालेका हुन् ।
अन्नपूर्ण–७ का वडासदस्यसमेत रहनुभएका कृषक बुद्धिवीर पुनले टिकोटका एक सय परिवारमध्ये अधिकांशले बन्दाखेती गरेका बताउनुभयो ।
‘गत वर्ष एक करोड रुपैयाँ बराबरको बन्दा बिक्री भएको थियो’, उहाँले भन्नुभयो, ‘यसपालि कृषक र क्षेत्रफलसँगै बन्दाको उत्पादन तथा आम्दानी बढ्ने अपेक्षा गरेका छौँ ।’ उहाँका अनुसार एक जना कृषकले एक लाखदेखि सातलाख रुपैयाँसम्मको बन्दा बिक्री गरिरहेका छन् ।
तीन–चार वर्षअघिसम्म पुनसहित टिका पाइजालगायत पाँच जनाले टिकोटमा बन्दा खेती सुरु गरेका थिए । दुई हजार दुई सय ५० मिटर उचाइमा उच्च पहाडी भूगोलमा अवस्थित टिकोटको बेमौसमी बन्दाले बजार पाएपछि पछिल्लो तीन वर्षयता कृषकहरू यसतर्फ आकर्षित भएका हुन् ।
खाद्यबालीको तुलनामा छिटो र नगद आम्दानी हुने भएकाले बन्दाखेती सुरु गरेको टिकोटका कृषक मनराज गर्बुजाले बताउनुभयो । गत वर्ष एक लाख रुपैयाँको बन्दा बेचेको जनाउँदै उहाँले यस वर्ष १४ रोपनी जग्गामा कोदो र मकैको विकल्पमा बन्दाखेती गरिरहेको उल्लेख गर्नुभयो ।
जेठमा लगाएको बन्दा असारको अन्तिम सातादेखि बजार पठाउन सुरु हुन्छ । भदौ महिनासम्म बिक्री गर्न मिल्ने गरी यहाँका कृषकले फरकफरक समयमा बेर्ना सारेका मनराजले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष प्रतिकिलो ५० रुपैयाँका दरले बन्दा बिक्री भएको थियो ।
टिकोटका कृषकहरूद्वारा उत्पादित तरकारी बेनी, जोमसोम, पोखरा, बागलुङलगायत विभिन्न स्थानमा बिक्री हुने कृषक टिका पाइजा पुनले बताउनुभयो । रासायनिक मल र विषादीको प्रयोगबिना तरकारीखेती भइरहेको बताउँदै उहाँले विषादीको विकल्पमा गाईभैँसीको गहुँत र गोबर प्रयोग गर्ने गरिएको जानकारी दिनुभयो ।
‘रासायनिक मलको विकल्पमा स्याउला, पातपतिङ्गर र गाईवस्तुको गोबर कुहाएर मल बनाउँछौँ’, उहाँले भन्नुभयो, ‘प्राङ्गारिक प्रविधिबाट उत्पादन भएका बेमौसमी बन्दाले बजार र उचित मूल्य पाएकाले कृषक उत्साहित छौँ ।’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिकाले टिकोटमा ‘तरकारी पकेट कार्यक्रम’ सञ्चालन गरेको छ । पकेट कार्यक्रममार्फत कृषकलाई अनुदानमा बीउ, कृषि औजार र प्रविधिमा सहयोग गरिरहेको गाउँपालिकाका कृषि अधिकृत श्यामशरण कुर्मीले बताउनुभयो ।
उहाँका अनुसार चालु आर्थिक वर्षमा १२ लाख रुपैयाँ बजेट विनियोजन गरेको उल्लेख गर्दै टिकोट तरकारी पकेट कार्यक्रमका लागि आगामी आवका लागि थप ६ लाख रुपैयाँ विनियोजन भएको जानकारी दिनुभयो ।
–रासस
प्रतिक्रिया दिनुहोस