गुल्मी/ छत्रकोट गाउँपालिका–४ दिगामका कृषकले व्यावसायिक उखुखेती गरेर राम्रो आम्दानी लिइरहेका छन् । सिँचाइका अभावमा बाँझिएका बारीहरू यतिबेला उखुखेतीले ढपक्कै बनेका छन् ।
छत्रकोट–४, दिगामका कृषक रामकृष्ण न्यौपानेलाई यतिबेला त्यही उखुबाट निस्किएको रसबाट गुड र खुदो उत्पादन गरेर बिक्री गर्न भ्याइनभ्याई छ । बिहान उज्यालो भएदेखि बेलुकी अबेरसम्म पनि उहाँको परिवार गुड र खुदो उत्पादन गर्नमा व्यस्त देखिन्छ ।
गुड र खुँदो बिक्री गरेर पाँच महिनाका अवधिमा न्यौपानेले झण्डै एक करोड रुपैयाँको कारोबार गरिसक्नु भएको छ ।
गाउँबाट धेरै युवाहरू रोजगारीको खोजीमा भौतारी रहेको अवस्थामा दिगामका युवाहरु रामकृष्ण न्यौपाने, किरण न्यौपाने, जगदीश पाण्डे यतिबेला गाउँमै उखु खेतीमा रमाइरहेका छन् ।
उनीहरू तीनै जनाले संयुक्त रुपमा एक करोडको योजना बनाएर आफ्नै लगानीमा गाउँमै तीन वर्षदेखि व्यावसायिक तरिकाबाट उखु उत्पादन गरेर उद्योग स्थापना गर्नु भएको छ । त्यही उद्योगबाट यतिबेला गुड र खुँदो उत्पादन गर्दै आउनु भएको छ ।
उखुको रसबाट बनेको गुड र खुँदो बिक्री गरेर तीन जना युवाहरू आर्थिक समृद्धिको खोजीमा जुट्न थालेका हुन् । उनीहरूले तीन सय रोपनी जग्गा भाडामा लिएर उखुखेती गर्न शुरु गरेका हुन् ।
गाउँमै उखु उद्योग स्थापना गरेर उनीहरुले उखुको रसलाई विविधिकरण गर्दै आएका छन् । आधुनिक मेसिनबाट पेलीएको उखुको रसलाई प्रशोधन गरि गुड र खुँदोको ब्रान्डिङ गरिएको छ । उनीहरूले कम्पनी मार्फत गाउँका एक सय २५ भन्दा बढी किसानहरूको उखु खरिद गरेर खुँदो र गुड उत्पादन गर्दै आएका छन् ।
कृषि ज्ञान केन्द्र गुल्मीले न्यौपानेलाई उखु प्रशोधनका लागि आधुनिक मेसिन र भट्टी निर्माणका लागि ६ लाख ४५ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ । उक्त अनुदान रकममा थप गरेर उनीहरूले १२ लाख भन्दा बढी लगानीमा उखु प्रशोधनका लागि मेसिन जडान गरेका छन् ।
मेसिनबाट प्रति घण्टा २५ क्विन्टल उखु पेल्न सक्ने क्षमता रहेको उद्योगका सञ्चालक रामकृष्ण न्यौपानेले बताउनुभयो । यसरी बनाएको गुड प्रतिकिलो तीन सय रुपैयाँ र खुँदो प्रतिलिटर एक सय ८० रुपैयाँमा बिक्दै आएको छ ।
उद्योगमा हाल १५ जना व्यक्तिहरू प्रत्यक्ष रुपमा रोजगारीमा जोडिएका छन । गाउँमै उखुबाट समृद्धि खोज्न थाल्नुभएका न्यौपानेले कम्पनी मार्फत पाँच महिनाको अवधिमा एक करोड रुपैयाँभन्दा बढीको गुड र खुँदो बिक्री भैसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘बजारमा दिगामको गुड र खुँदोको माग धेरै आउने गरेको छ । राम्रो गुणस्तरको भएर होला उपभोक्ताहरूले पनि खोजी खोजी लैजाने गर्नुहुन्छ । कहिलेकाहीँ माग धेरै भएको समयमा हामीलाई माग पुर्याउन पनि धौधौ पर्छ ।’
कृषि ज्ञानकेन्द्र गुल्मीका बरिष्ट बालि संरक्षण अधिकृत प्रकाश मरासिनीका अनुसार यस वर्ष जिल्लामा पाँच करोड ७० लाख रुपैयाँबराबरको गुड र खुँदो बिक्री भैसकेको छ । जसअनुसार जिल्ला भित्र दुई करोड रुपैयाँबराबरको खपत भएको तथा तीन करोड ७० लाख रुपैयाँको बाहिर निर्यात भएको बताइएको छ ।
जिल्लाको छत्रकोट र रुरुक्षेत्रमा एक सय ९६ हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ । यस वर्ष पाँच सय ९४ मेट्रिकटन भन्दा धेरै गुड र खुँदो उत्पादन भएको छ । रुरुक्षेत्र र छत्रकोटमा कुल ६ सय २५ घरधुरीका कृषकहरु व्यावसायिक रुपमा उखु खेतीमा जोडिएका छन् ।
–रासस
प्रतिक्रिया दिनुहोस