२७ असार २०८२ शुक्रबार | 11 Jul 2025 Fri

सागसब्जी रोपेर महिनाकै दुई लाख कमाइ



  • आफ्नै खबर
  • २७ असार २०८२ शुक्रबार (७ घण्टा अघि)
  • पाठक संख्या ८२
  • कैलाली/  जानकी गाउँपालिका–५ पहाडीपुरका नारायण जोशीको परिवारको मुख्य आम्दानीको स्रोत सागसब्जी खेती हो । बाइस वर्षअघि उहाँका पिताले थालेको सागसब्जी खेतीलाई उहाँले व्यावसायिक रूपमा अघि बढाउनुभएको छ । 

    रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले किसानलाई खेतीमा हौसला मात्र होइन व्यावसायिक बन्न सघाएको छ । आयोजनाको सहयोग पाएका किसान खेतीमा प्रविधि र नयाँ सीप सिकेर व्यावसायिक बनेका छन् । 

    सागसब्जी खेतीमा भविष्य र कमाइ देखेर व्यावसायिक खेती गरिरहेका खप्तड पशुपन्छी तथा कृषि फार्मका सञ्चालक नारायणलाई सिँचाइ आयोजनाको सहयोगले पेसामा टिकिरहन सहज बनाइदिएको छ । उहाँले तीन बिघामा गोलभेँडा, आलु र लहरे सागसब्जी लगाउनुभएको छ । 

    जोशीले भन्नुभयो, ‘तीस लाख रुपैयाँ लगानी गरेको हुँ । वार्षिक एक हजार क्विन्टल उत्पादन हुने गरेको छ । सबै खर्च कटाएर मासिक एक लाख पचास हजारदेखि दुई लाख रुपैयाँसम्म बचत हुन्छ ।’

    उहाँको पाँच जनाको परिवार सागसब्जी खेतीमा रमाएको छ । जग्गाको खोजीमा रहेका नारायण आयोजनाले सहयोग गरिरहेकाले आफू थप दश बिघामा सागसब्जीखेती गर्ने योजनामा रहेको बताउनुभयो । उहाँले जैविक मलमात्र प्रयोग गरेर खेती गर्दै आउनुभएको छ । 

    रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले किसानलाई बीउबिजन, नयाँ प्रविधिमा अनुदान सहयोग गर्न थालेपछि किसानहरु व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् । 

    सिँचाइ आयोजनाका कृषि अधिकृत आकृति ठाकुर बाली संरक्षणका लागि खेती गर्नुपूर्व माटोदेखि नै सचेत हुनुपर्नेमा जोड दिनुहुन्छ । 

    ‘खेती गर्दा माटोको संरक्षणबाटै सुरु गरेमा नारायणजस्तै राम्रो आम्दानी लिन सकिन्छ’, उहाँ भन्नुहुन्छ, ‘किसानले माटो, वातावरण संरक्षणबाटै खेती थाल्नुपर्छ । यसरी ध्यान दिने किसानलाई हामीले बाली संरक्षणमा पनि सघाइरहेका छौँ ।’

    सिँचाइ आयोजनाका प्रमुख भरत कँडेल आयोजनाको नीति युवा किसानलाई कृषिमा प्रेरित गर्नु रहेको बताउनुहुन्छ । ‘यसरी प्रेरणादायी रुपमा काम गर्ने किसानलाई टेको लगाउने काम आयोजनाले गरिरहेको छ’, उहाँ भन्नुहुन्छ, ‘कृषिमा जोशी परिवारको सफलता देख्दा खुसी लागेका छ ।’

    आयोजनाको कमान्ड क्षेत्रका किसानहरू व्यावसायिक बन्न किसानको आवश्यकताका आधारमा आयोजनाले बीउबिजनमा ५० प्रतिशत अनुदान, नयाँ प्रविधिमा ७० देखि ८० प्रतिशत अनुदान उपलब्ध गराएको छ । 

    सागसब्जीखेतीलाई पेशा बनाएर युवा पुस्तालाई पनि त्यसमा नै रमाउन अभिप्रेरित गर्नुभएका किसान नारायणका बुबा प्रेमप्रसाद जोशीलाई दुई साताअघि राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कृत गर्नुभएको थियो । राष्ट्रपतिले दुई लाख रुपैयाँसहित उहाँलाई कृषिका माध्यमबाट मुलुकको आर्थिक समृद्धिमा योगदान दिएको भन्दै पुरस्कृत गर्नुभएको हो ।

    –रासस