१० साउन २०८२ शनिबार | 26 Jul 2025 Sat

 बढ्दैछ जडीबुटी निकासी



  • आफ्नै खबर
  • ८ साउन २०८२ बिहिबार (२ दिन अघि)
  • पाठक संख्या ७३
  • मनाङ/  हिमाली जिल्ला मनाङ औषधीय जडीबुटी उत्पादनको केन्द्र मानिन्छ । पछिल्लो समय यहाँबाट आयुर्वेदिक औषधीय गुण भएका जडीबुटी निकासी बढ्दै गएको छ । 

    आर्थिक वर्ष २०८१/८२ मा यार्सागुम्बा, वन लसुन र जिम्बु निकासीबाट ३५ लाख ९२ हजार रुपैयाँ राजश्व सङ्कलन गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाई कार्यालयले जनाएको छ । इकाई कार्यालयका प्रमुख ढकबहादुर भुजेलले गत वर्ष यार्सागुम्बा एक सय १२.६९३ किलोग्राम निकासी गरिएको जानकारी दिनुभयो । 

    उहाँका अनुसार उक्त परिमाणको यार्सागुम्बा निकासी गरेबापत ३४ लाख ८५ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । वन लसुन तीन हजार एक सय ८६.३ किलोग्राम निकासीबापत ९७ हजार सात सय ५० र जिम्बु नौ सय १० किलोग्राम निकासी गरेबापत नौ हजार एक सय रुपैयाँ राजश्व सङ्कलन भएको भुजेलले बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘गत वर्ष तीन प्रकारका औषधीय जडीबुटी निकासी गरिएको छ । विगतमा जस्तो गुची च्याउ सङ्कलन भएको पाइएन, तर पनि राजश्व बढेको छ ।’ 

    यार्सागुम्बा टिप्न जिल्लाका चार सय ८८ र बाह्य एक हजार ३६ तथा वन लसुनका लागि दुई सय १४ स्थानीय र सात सय १५ बाह्य व्यक्तिले पुर्जी लिएका थिए । 

    आव २०८०/८१ मा यार्सागुम्बा, वन लसुन, जिम्बु र गुची च्याउ निकासी गरिएको थियो । जिम्बु नौ सय ३३ किलोग्राम निकासी गर्दा १० हजार दुई सय ८० रुपैयाँ, वन लसुन दुई हजार दुई सय पाँच किलोग्राम निकासी गरी ६६ हजार एक सय ५० रुपैयाँ, यार्सागुम्बा ७२.५४२ किलोग्राम निकासी गर्दा २२ लाख ४८ हजार नौ सय रुपैयाँ र गुची च्याउ चार किलोग्राम निकासी गर्दा दुई हजार रुपैयाँ गरी २३ लाख २७ हजार ३ सय ३२ रुपैयाँ राजश्व सङ्कलन गरिएको थियो । 

    यस्तै, आव २०७९/८० मा औषधीय जडीबुटी निकासीबापत २६ लाख २२ हजार ६६९ राजश्व सङ्कलन गरिएको थियो । 

    गतवर्षको तुलनामा केही जडीबुटी निकासी नगरिँदा पनि परिमाण वृद्धि हुँदा राजश्व बढेको प्रमुख भुजेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कम मूल्य पर्ने औषधीय जडीबुटी बढी परिमाणमा निकासी गरिएको छ भने केही जडीबुटीको निकासी नै गरिएको छैन । यस्तो अवस्थामा बढी मूल्य पर्ने जडीबुटीको परिमाण बढेको छ ।’

    –रासस