म्याग्दी/ म्याग्दीले हरेक नेपालीलाई एक किलो भन्दा वढी पर्नेगरी आलु उत्पादन गरेको छ । यस वर्ष अघिल्लो वर्षको तुलनामा आलु बालीको उत्पादन नौ प्रतिशतले उत्पादन वढ्दा ३५ हजार मेट्रिक टन आलु उत्पादन भएको हो ।
यो वर्ष एक हजार ८२० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १९.५ मेट्रिक टनका दरले आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
क्षेत्रफल विस्तार, अनुकूल मौसम, रोग र कीराको समस्या नदेखिएकाले आलुको उत्पादन बढेको केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले बताउनुभयो । उहाँका अनुसार जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा एक हजार सात सय ५० हेक्टरमा ३१ हजार चार सय ५० मेट्रिक टन आलु उत्पादन भएको थियो ।
केन्द्रका अनुसार म्याग्दीबाट वार्षिक १० करोड रुपैयाँ बराबरको आलु पोखरा, काठमाडौँलगायत बजारमा बिक्री हुने गर्छ । सरदर प्रतिकेजी ४० देखि ४५ का दरले बारीबाटै आलुको व्यापार भएको छ । उत्पादनको दृष्टिकोणले विक्रि भएको आलुको मात्रा निकै नै थोरै हो ।
नियमित वर्षा भएकाले सिँचाइ, मौसम अनुकूल र रोग कीरा नदेखिएकाले उत्पादन बढेको अन्नपूर्ण गाउँपालिका–७ का वुद्धिवीर पुनले बताउनुभयो । उहाँका अनुसार लेकाली क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु स्वादिलो र पोषिलो हुने भएकाले जिल्ला बाहिरबाट अत्यधिक मात्रामा माग आउने गरेको छ ।
अन्नपूर्ण गाउँपालिकाको शिख, खिबाङ, राम्चे, काफलडाँडा नाङ्गी, हिस्तान, पाउद्वार, रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले, दर्मिजा, चिमखोला, ठाडाखानी, बेनी नगरपालिकाको भकिम्लीलगायत ठाउँमा आलु उत्पादन हुन्छ । सवारीसाधनको पहुँच पुगेपछि गाउँगाउँमा उत्पादन भएको आलुले बजार पाउन थालेको हो ।
गत वर्ष एक हजार तीन सय रोपनीमा सञ्चालन भएको खायन आलु प्रवर्द्धन कार्यक्रममार्फत एक हजार ८५ मेट्रिक टन उत्पादन भएको केन्द्रका प्रमुख बाँस्तोलाले बताउनुभयो । कार्यक्रममार्फत तीनवटा सहकारी र २७ समूहलाई बीउ, यान्त्रिकीकरण, सिँचाइ पूर्वाधार, प्याकेजिङ र ढुवानीका लागि ८७ लाख ६४ हजार अनुदान उपलब्ध गराएको केन्द्रले जनाएको छ ।
म्याग्दीमा आलु जोन कार्यक्रमले अन्नपूर्ण र रघुगङ्गा गाउँपालिका तथा बेनी नगरपालिकाको वडा नं ९ र १० मा आलुखेती विस्तारमा सहयोग गर्दै आएको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस