३ बर्ष आगाडि आजैको दिन नेपाल प्रज्ञाप्रतिष्ठानको सभा कक्षामा सर्वजनिक गरिएको थियो “फिलिङ्गो”।
आख्यान लेखनको एक शताब्दी बितिसक्दा पनि आख्यान विधामा नारी हस्ताक्षरको कमी भइरहेको समयमा आएको प्रभा बरालको औपन्यासिक कृति फिलिङ्गो मदन पुरस्कारबाट मनोनितभई उत्कृष्ट ९ सूचीमा पनि पर्न सफल भएको थियो । चितवन साहित्य परिषद् बाट ५० हजार राशिको चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार (२०७७) प्राप्त गरेको थियो ।
‘आत्मसम्मानमा बाँच्न खोज्ने हरेक महिलाप्रति समर्पित “फिलिङ्गो”मा कथा बुन्ने शैली सरल भएकोले पाठकलाई बुझ्न सहज छ । जापानी र नेपाली सामाजिक–सास्स्कृतिक परिवेश समेटेको यो पुस्तकमा जापानी र नेपाली महिलाका मानवीय संवेदनाका प्रसङ्गहरु रोचक ढङ्गमा आएका छन् । महिलाको आत्मसम्मान र आत्मनिर्णयका विषयलाई आधार बनाएर नारीमा चेतनाको बीज छर्ने काम गरेको छ । पुँजीवादी अर्थव्यवस्था र पितृसत्ताको शोषणमा महिलाहरु कसरी चेपिन्छन् भन्ने सामाजिक यथार्थलाई प्रतिबिम्बित गरेको छ । जापान र नेपालका सन्दर्भहरू उल्लेख गर्दै नारी सशक्तीकरणको कुराको उठान गरेको छ । निर्भय र मिसावाको सम्बन्धले पुरुष प्रब्रित्तीलाई मात्रै दोष थोपरेको छैन , पुर्विय सस्कार बाट बिस्तार बारालिदै गएको स्वच्छन्द समाज अनि बिवाह पछिको गुप्त सम्बन्ध जस्ता बिकृतिलाई पनि उजागर पारेको छ । आफ्नो अस्तित्वको लडाइँ आफै लड्नुपर्छ भन्ने चेतनाबोध बोकेको उपन्यास फिलिङ्गोमा आप्रवासी नेपाली, कम्जोर आय स्तरभएको मुलुकबाट पढ्न जाने विद्यार्थी र त्यसै क्रममा भोग्नु परेका भुक्तमानका कथा, उपकथा र प्रसँगहरु उनिएका छन। २१औँ सताब्दिको सभ्य समाजकी आत्मनिर्भर महिलाले पनि अक्सर सहनुपर्ने, सम्झौता गर्नुपर्ने यथार्थको मौन बिद्रोह समेटिएको सशक्त कथा छ। जहाँ प्रमुख पात्र सफल पनि भएकी छन शशक्तिकरणको झिल्कोलाई फिलिङ्गोमा बदल्न !
हाँगामा फुलिरहेका साकुराका फूलहरू, त्यसको तल गोलार्द्ध भित्र साइकल चलाइरहेकी एक महिलाको चित्र छ आवरणमा । पानीको छालजस्तै कठिनाईको भर्याङ् चढ्दै लक्षको गोलार्द्धमा केन्द्रिय पात्रलाई राखेर पुस्तकको कलेबर तयार गरिएको छ।
जापानका पारिवारिक जीवन, धर्म, संस्कृति, चाडपर्व, नीतिनियम, अनुशासन, देशप्रेम, कामप्रति लगनशीलता, राजनीतिप्रति आस्था आदि कुरालाई चित्रण गरिएको छ । सामान्य नागरिकका नाममा सहरको नाम मात्चुयामा रहनुको प्रसँग, उनीहरू श्रमबाट जीवन जिउने कला सिक्छन् भन्ने बिश्लेशण , देश समृद्ध भए पनि अझै देखिने “हिबाकुसा” जस्ता रुढिवादी मान्यता कायम रहेको प्रसँगहरू सहित जापानबारे विभिन्न तथ्य छ पुस्तकमा । नेपाली युवाहरुको आप्रवाश आकर्शण बढीरहेको बर्तमान परिबेशमा यी सन्दर्भहरु जापानी महिला र नेपाली महिलाका संवेदना पनि जोडिएका छन् आख्यानमा । नेपाली युवायुवतीले जापानी भूगोलमा गरेका सङ्घर्षका अनेक किस्साहरुलाई उपन्यासले समेटेको छ । सस्कृतिमा जोडीएको खनिजयुक्त तातोपानी कुन्डको साँस्कृतिक झलक छ ।
नेपालबाट तालिममा गएकी त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक अजिलाबाट आफूले कमाएको रकम आफैँले बचत गनुपर्छ भन्ने भावनाको विकास हुन्छ । आर्थिक शशक्तिकरणको चेत ब्युझिन्छ । आफु यसरी शोषणमा पर्न हुँदैन भन्ने चेतना उसले समयमै बोध गरेर अस्तित्व निर्माणका लागि लड्छिन् । अन्ततः सफलता हासिल हुन्छ।
जापानी शब्दहरु पनि जोडिएर आउँदा पाठकलाई सलल बग्न नदिएर पठन अवरोध पुर्याउने पो हो कि भन्ने डरलाई पृष्ठको अन्त्यमा राखिएको “फूट नोट”ले यथेष्ट सघाएको छ ।
यहाँबाट सल्केको चेतना र सालीन बिद्रोहको फिलुङो यसरी भर्भराउदै ताप र राप फैलिन्छ :
‘सासूससुरा, इष्टमित्र, आफन्त सबै नेपालमा छन् । उनको मनमौजी व्यवहारको प्रत्यक्षदर्शी म मात्र बनेकी छु । अब त उनी व्यापारको नाममा खुलेरै मिसावाको अघिपछि गरिरहेका छन् । म नाममात्रकी पत्नी भएकी छु । यसबाट निम्तिने परिणामले मलाई नै बढी पिरोलेको छ । किनकि समाजमा महिलाकै दोष देखाइन्छ । म बोलेर हैन, व्यवहारले बागी बन्छु । मनभित्र बलिरहेको स्वाभिमानको फिलिङ्गोबाट अस्तित्वको भुङ्ग्रो निकाल्छु र ताप्छु त्यही तातो । म सहेर बस्दिनँ निर्भयको हेपाहा व्यवहार । म जिउन सक्छु आफ्नै स्वावलम्बी पाखुरीमा । म हिँड्न सक्छु आफ्नै निर्णयको कुसुमपथमा । मेरो मन सल्लाह दिन्छ ।’ (पृ. २२६)
तीन प्रमुख पात्रः मूल रूपमा सीमान्ती, उन्को पति निर्भय र मिसावाको तीन चम्काले बनेको चुल्होमा चेतनाको फिलिङ्गो बालेकिछन नेपालबाट तालिममा गएकी त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक अजिला म्यामले!
‘त्यो दिन दोगो पार्कमा अजिला म्यामले “आफ्ना लागि आफ्नो कमाइको हिस्सा खै ?” नभनेको भए मैले कहाँ जुटाउँथे र आफ्नो लागि पैसा ! आज मेरो खातामा चालिस लाख जति जम्मा भइसकेको छ । त्यसको ब्याज पनि भयो होला चार, पाँच लाख । त्यही पैसा परिचालन गरेर म आफ्नो लक्ष्यमा पुगौँला भन्ने सोचेँ ।’ (पृ. २५३)
पढ्न हातमा लिएपछि पूरै पढेर नसकुञ्जेल पाठकलाई आफूतिर तानिराख्न सक्ने खुबी फिलिङ्गो उपन्यासमा पाइन्छ । जापान नगएका पाठकलाई पनि यसले जापान पुगेको भान गराउँछ । यो उपन्यास ३३ खण्डमा विभाजित छ । जम्मा ३०८ पृष्ठमा फैलिएको यो उपन्यासले औपन्यासिक पठनका लागि २९८ पृष्ठ ओगटेको छ । यस पुस्तकको मूल्य ५५० रहेको छ । पुस्तक अक्षर प्रकाशनले २०७७ साल फागुनमा प्रकाशित गरेकोको हो ।
“फिलिङ्गो” उपन्यासमाथि थुप्रै समिक्षक – पाठकले लेखिसकेका छन । यो कृतिले सम्मान, पुरस्कार तथा चर्चा परिचर्चा पनि प्राप्त गरिसकेको छ । पुनर्सँस्करण पनि निस्किएका छन्। ३ बर्षपुगेकोमा फिलिङ्गोको न्यानो सम्झना सहित यस कृतिले नेपाली साहित्यमा चिरकाल सम्म बिशिस्ट छाप राखिरहने छ भन्ने शुभकामना !
प्रतिक्रिया दिनुहोस