२४ बैशाख २०८२ बुधबार | 07 May 2025 Wed

यात्रा संस्मरण : कटुवाल दहको सुक्ष्म सुन्दरता



  • सागर न्यौपाने
  • ५ साउन २०८१ शनिबार (१० महिना अघि)
  • पाठक संख्या ३९८
  • जब साथी दिवाकरले भेगा फार्मेस्युटिकल लिमिटेडको भवनको मुलढोकामा मोटरसाइकल रोक्यो, अनि पो कहाँ लान लागेको हो भनेर अन्दाज गर्न थालें । भवनको गार्डले सोधपुछ गर्नु अगाडि नै नाताले भतिजो भन्नुपर्ने, सहज न्यौपाने कार्यरत औषधि उत्पादन कम्पनी को भवन यही रहेछ भन्ने बुझ्न समय लागेन । काठमाडौं विश्वविद्यालयबाट औषधि विज्ञानमा स्नातक गरेपछि भतिजो सहजले जनता फर्मास्युटिकल नामक औषधि उत्पादन कम्पनीमा काम गरेको र पछि यता काम गर्न थालेको कुरा सहजका पिता एवं साथी दिवाकरले मलाई धेरै पहिले नै भनिसकेको थियो ।

    सागर न्यौपाने

    फेरि हाँस्न बोल्न र आदर गर्नमा पछि नपर्ने छोरा सहज प्रिय लाग्छ मलाई । नत्र आजकालका युवा केटाकेटीहरु टोलका अग्रजहरुलाई नै चिन्दैनन् । हुन त बाबु पनि सानैदेखि त्यस्तै स्वभावको हो । सुरक्षा गार्ड हामीलाई देखेर अल्मलिए जस्तो भएपछि साथी ले भन्यो, ‘म सहजको बुबा, अस्तिन नौरथाको पूजामा आएको थिएं नि । सहजलाई बोलाइदिनु त एकपटक ।’

    ‘ए हो त हगि, भित्र आउनुस सर, म बोलाइहाल्छु ।’ नमस्कारका साथ खोलिएको गेटवाट हामी कम्पाउन्डमा छिर्यौं । साथी ले बाइक एक छेउमा राख्यो र कम्पाउन्डको उत्तरपूर्वतर्फको अलि उचाइमा रहेको भागमा हामी उक्लियौं सिमेन्टेड सिंढीबाट । त्यहाँका सुरक्षा गार्ड बस्ने फलामे पाताको सानो छाप्रो थियो । गार्डले हामीलाई आगन्तुक पुस्तिकामा नाम लेखेर हस्ताक्षर गर्न भन्दै थिए । तर छोरा सहज बाहिर आइसकेको हुनाले हामीले त्यसको वास्त गरेनौं ।

    ‘ऊ त्यो गाउको अग्लो रुख भएको थुम्को भन्दा उतापट्टि पर्छ कटुवाल दह’, गार्डले उत्तर पश्चिम तर्फ को पर देखिएको तुवाँलोले ढाकेको खोंचतिर देखाउँदै भने । यही बाटोबाट जानु, त्यो पुल बाट नगइ दायाँतिरकै बाटोबाट जानु’, गार्डले औषधि कम्पनीको मुलगेट अगाडि बाट गएको कच्ची बाटो तिर देखाउँदै फेरि भने ।

    एक कल फोन गर्नुपर्थ्यो नि, तपाईं पनि ।’ सहजले मलाई नमस्कार गरेर बाबुतिर हेर्दै मन्द असन्तुष्टि पोख्यो । ‘सप्र्राइज दिने भनेर फोन नगरी आको नि’, दिवाकरले जवाफ फर्कायो । बाइक यहिं राखेर हामी हिंड्दै कटुवाल दह जाने, कति टाइम लाग्छ होला ?’ साथीले फेरि सोध्यो छोरासँग  । सहजले भन्यो, ‘म पनि गएको त छैन, पुगेर फर्कनलाई ३, ४ घन्टा लाग्छ होला ।’ 

    ‘ऊ त्यो गाउको अग्लो रुख भएको थुम्को भन्दा उतापट्टि पर्छ कटुवाल दह’, गार्डले उत्तर पश्चिम तर्फको पर देखिएको तुवाँलोले ढाकेको खोंचतिर देखाउँदै भने । यही बाटोबाट जानु, त्यो पुल बाट नगइ दायाँतिरकै बाटोबाट जानु’, गार्डले औषधि कम्पनीको मुलगेट अगाडि बाट गएको कच्ची बाटो तिर देखाउँदै फेरि भने । ५ वजेसम्म फर्कने सोच सहित मध्यान्ह १ बजे हामिले बाटो ततायौं ।

     साथी दिवाकर र म बेला बेलामा काठमाडौंका पाखा भित्ताहरु नाप्न निस्किरहन्छौं । उत्तर पूर्वतिरका  नगरकोट, कात्तिके भन्ज्याङ, जरसिंह पौवा, मणिचुड, कागेश्वरी, धाप, सुन्दरीजल, तारेभीर, गुर्जेभन्ज्याङका उचाइमा पुगिसकेका छौं । दक्षिणतिर टिकाभैरव, फूलचोकी, गुन्डुको पाइलट बाबा आश्रम पुगिसकेका छौं । नागार्जुन जामाचो चाहिं म परिवारसँग पुगेको छु भने अरु नै साथीसँग भीमढुंगा र दहचोक चढिसकेको छु । बाँकि तारकेश्वर र चन्द्रागिरी, चम्पादेवी छन् । 

    दिवाकर को चाहिं नागार्जुन जामाचो र चम्पादेवी बाँकि छ भन्थ्यो । नेपाली कांग्रेस को राजनितिमा स्वाद गढेको उ गुच्चा खेल्ने कालदेखिकै साथी हो, नातामा चाहिं १ महिनाले भाइ । उ बेलाका ६–७ जना न्यौपाने दाजुभाइ मध्येका ठाइँला भाइको पनाति म, कान्छाको पनाति दिवाकर । 

    २०४६ सालदेखि नै कांग्रेसमा निष्ठाको राजनिति गर्ने साथीले पार्टीभित्रको तछाड मछाड , आर्थिक चलखेल ले गर्दा पदीय हिसावले अहिलेसम्म पनि ठूलो जिम्मेवारी पाउन सकेको छैन । तर पनि काँग्रेस मोहले छोड्न सकेको छैन अहिले सम्म साथीलाई । निष्ठाको राजनिति गर्नेहरुको हालत यस्तै हो ।

    अहिले त निष्ठाको राजनीति गर्ने पुराना नेता अथवा कार्यकर्ता (चाहे जुनसुकै पार्टीका हुन्) ले पार्टी छोडेर स्वतन्त्र जीवन बिताउन पनि थालेका छन् । साहित्य, संगीतमा पनि उसको रुचि पहिलेदेखि नै छ । संगीतमा तबला बजाउन र पुराना नेपाली गीत सुन्न गाउन, नाच्न मन पराउँछ । साहित्य लेखनमा गीत, कविता र कथा लेखनमा कलम चलाउने गर्दछ । उसको एउटा गीत त मेरो स्वर संगीतमा रेकर्ड भएको पनि छ । 

    आजभोलि कथा लेखनमा व्यस्त साथी चाँडै नै कथा संग्रह प्रकाशित गर्ने सोचमा रहेको मलाई बताएको छ । मचाहिँ उसलाई राजनीति छोडेर साहित्यमै व्यस्त हुन सल्लाह दिइरहन्छु । तर राजनीतिलाई सच्चा हृदयले समाज सेवाको माध्यम बनाएको उसको त्यही माध्यमबाट धेरै मित्रहरु पनि बनिसकेका हुनाले त्यसबाट विमुख हुन उसलाई गाह्रो भएको बुझेको छु मैले । 

    –––––––––

    बिहानको खाना खाएर के गरु अब भनेर गम्दै थिएँ । साथीको फोन आयो, ‘हेलो, खाना खाइस् ?’ अँ, खाएं’, कानमा मोवाइल टाँस्दै मैले जवाफ दिएं । ‘फुर्सद छ ?’ उताबाट आवाज आयो । मेरो जवाफैं नसुनी उसले निर्देशात्मक स्वरमा भन्यो, ‘घरमा आइजो न त, कतै जाउँ आज ।’ 

    घुमघाम गर्न भनेपछि असाध्यै मन पर्ने म यस्तो प्रस्तावले खुशी नहुने कुरै भएन । यस्तो प्रस्ताव आउँदा कुनै अती जरुरी कामबाहेक सानातिना कामलाई भोलिका लागि छोडिदिने बानी छ मेरो । ‘ल मलाई त घुम्न जाने निम्तो आयो, हिंड्न पर्ने भयो । दिवाकरले बोलाएको छ ।’ खाना खाइसकेपछि भान्छामा खत्र्याकखत्रुक गरिरहेकी श्रीमतीसँग भनें । ‘जानु जानु ।’ 

    यो पटक नरिसाइकन उनले स्वीकृति दिइन् । नत्र त म साथीसँग घुम्न निस्कने भनेपछि उनी भित्रभित्र रिसाए जस्तो अनुभव हुन्थ्यो मलाई । अरु कारणले होइन उनीसँग घुम्न नहिंड्ने भनेर । म चाहिं भन्ने गर्थें, ‘टाढा जानुपर्दा त हामी सँगै गएकै छौं नि ।’

    रमाइरहेको थियो मन । बायाँतिर अग्लिँदै गएको गाउँवस्ती दायाँतिर ओरालिँदै गएको पातलो वस्ती खेतबारी, अनि समथर भुभागमा फेरि खेतबारी सहितको पातलो गाउँ, अनि दक्षिणतिर बग्दै गएकी बागमती नदी । 

    ‘करीव १५ मिनेट पछि म साथी दिवाकरको घर कम्पाउन्डमा छिरिसकेको थिएँ । उसको घर कम्पाउन्डको केनलमा बसिरहेको सानो जापानी कुकर मलाई देखेर भुक्न थालिहाल्यो । ढोके घन्टी बजाउनै परेन मैले । 

    भजन गुनगुनाउँदै युनिकर्न मोटरसाइकल पुछपाछ गरेर ढोका बाहिर निकाल्यो । म पछाडि बसें । ‘आज दक्षिणतिर जाऊं बुझिस् ? सधैं कति उत्तरतिर जानु ।’ उसको प्रस्ताव मैले ‘हुन्छ’ को एक शव्दमै पारित गरिदिएँ । अरु बेलामा भए कहाँ जाने भनेर हामी छलफल गर्थ्यौं । 

    हामी चढेको मोटरसाइकल पानीट्यांङ्की हाइटबाट सरस्वतीनगर ओर्लेर  गोपीकृष्ण, धोवीखोला करिडोर हुंदै युएन पार्क अनि बाग्मती करिडोरै करिडोर अगाडि बढ्यो । सानेपाबाट पूर्वतर्फ केही अगाडि बढेर नख्खु तिर मोडिएपछि भने कार्यविनायक गणेश थान र पुरानो नेवारी शहर वुङमती जान खोजेको अनुमान गरें । तर सोधिनं । अरु अरु विषयमा कुरा भएपनि हावाको झोंकाले आधा मात्र बुझिन्थ्यो । 

    कार्यविनायक मोड आइपुग्यो तर दिवाकर मोडिएन । अलि पर बुङमती मोड आइपुग्यो त्यहाँपनि मोडिएन । पुरानो नेवारी शहर बुङ्मतीलाई दायाँतिर छोडेर कच्ची बाटोमा अगाडि बढायो । सहकालका देवता रातो मच्छिन्द्रनाथ को मन्दिर भएको शहर बुङ्मती हामीले पहिले घुमिसकेका थियौं । 

    कच्ची बाटोमा कतै कतै त पानी छोडिएको थियो । सडकको खाल्डाखुल्डीमा पानी भरिएको ठाउँमा मोटरसाइकल लडेर हिलाम्मे भइने हो कि भन्ने डर लागिरहेथ्यो मलाई । बाक्लो वस्ती पातलिंदै गएर खेत बारी रुख बिरुवा देख्न पाइँदै थियो । रमाइरहेको थियो मन । बायाँतिर अग्लिँदै गएको गाउँवस्ती दायाँतिर ओरालिँदै गएको पातलो वस्ती खेतबारी, अनि समथर भुभागमा फेरि खेतबारी सहितको पातलो गाउँ, अनि दक्षिणतिर बग्दै गएकी बागमती नदी । 

    नदी पारि चाल्नाखेल फर्पिङ, तुवाँलोले छोपिएर धमिलो देखिएको थियो । सफा मौसम भएको भए कति छर्लंग देखिन्थ्यो होला । दिवाकर अगाडि मोटरसाइकल चलाउन व्यस्त थियो । म दृश्यावलोकनमा रमाइरहेको थिएँ । झन्डै झन्डै बागमतीलाई छुन पुगेको एउटा थुम्कोको मोडबाट बायाँतिर मोडिए पछि अलि उराठ लाग्दो वस्ती देखा पर्यो । अग्लो चिम्नी सहितको ईंटा भट्टाले साँच्चै दिक्क लाग्दो बनायो । 

    बन्दै गरेका र बनिसकेका केही आधुनिक घरहरुले गाउँले परिवेशमा केही खलल पुर्याएको भान हुन्थ्यो । फर्सी डोल रहेछ यो गाउँको नाम । ओह्रालो कच्ची मोटर बाटोबाट ओह्रालेर सेतो अग्लो झ्यालढोका नभएको भेगा फर्मास्युटिकलको मूल गेटमा साथीले बाइक रोकेको थियो ।

    –––––––––

    हामी कच्ची हिले मोटर बाटोमा हिंड्न थाल्यौं । वायाँतिरको इँटाभट्टामा मजदूर माटो साँचोमा हालेर इँटा पार्दै थिए । धुल्याहा कच्ची बाटोमा भलाकुसारी गर्दै अगाडि बढ्यौं हामी । १० मिनेट जति हिंडेपछि बागमती नदीछेउमा पुगियो । नदीमाथि पक्की पुल बनेको थियो । हामीलाई पुलबाट नगई बायाँतर्फको डाँडाको फेदीबाट गएको बाटो जानु भनेका थिए गार्ड भाइले । हामीले त्यसैलाई पच्छ्यायौं । 

    पुलपारी फैलँदै गएका फर्पिङ डाँडाका गाउँहरु तुवालोले गर्दा धमिला देखिए । ‘ओहो कस्तो कालो पानी हगि ? केमिकल ले गर्दा होला फिंजैफिंज पनि देखिन्छ,’ दिवाकर बोल्यो । ‘हो, सारा काठमाडौं उपत्यका बासीको ढल पनि बोकेको छ बागमतीले, के सफा होस् त ? बागमती प्रदुषित गर्ने मध्येकै एउटा मैले गुरु पारा झिकिहालें । अगाडिबाट धुलोको मुस्लो उडाउँदै टिप्पर आयो । हामी सडक छेउमा उभियौं ।

    ‘सडकै सडक गए त धेरै समय लाग्छ । तपाईहरु अलीिमाथि गएर अर्को बाटो ओर्लिनुस् । अनि झुलुंगे पुल तरेर व्यारेक नजिकबाट जानुहोस् १५ मिनेटमा पुग्नुहुन्छ’, उनको सटिक जवाफ । ‘यो ठाउँको नाम के हो नि दाइ ?’ फेरि प्रश्न । ‘डुकुछाप’ छोटो उत्तर ।

    मैले त धन्न मास्क लगाएको थिएँ । तैपनि हामी दुवैको फोक्सोमा धुलोका कणहरु थपिइहाले । मैले आफूसँग भएको फ्रेस मास्क दिंदै भनें, ‘मास्क लगा यार, आजभोलि भाइरल चलेको छ, यो धूलोको एलर्जी भयो भने निको हुन निकै दिन लाग्छ ।’ म डाक्टर पनि भइटोपलें । उसले मास्क लगायो । हामी अलि उचाइ लिँदै गएको बाटोमा थियौं । बाटोको दायाँतर्फ बागमती उही कालो रुपमै सेतो फिंज लिएर नागबेली आकारले बगिरहेको देखिन्थ्यो । 

    अलीक उचाइमा पुगेर सानो भन्ज्याङबाट फेरि धुलेबाटो अलि बायाँतर्फ मोडिएर गएको र दायाँतर्फ रमाइलो फाँट देखियो, घरहरु निकै कम । बाटो छोडेर फाँटको आली आली हिंड्न मन लागेको थियो, बुङ्मती फर्सीडोल मार्गको धूलो बाट पनि बच्न सकिन्थ्यो । तर फाँटमा त्यस्तो आलीको बाटो देखिएन । फेरि प्लास्टिक को टहरा बनाएर तर्कारी खेती गरिएकोले पनि आलीको बाटो हिंड्न नसकिने देखिन्थ्यो । त्यसैले त्यही धुलेमार्ग हिंड्नु र टिप्परले उडाउने धूलो ग्रहण गर्नुको विकल्प थिएन ।

    एउटा घुम्तीमा पुगेपछि डुकुछा , बुङ्मती काठमाडौं लेखिएका बसहरु बिसाइएको रहेछ बाटो छेउमा । काठमाडौंबाट यहाँसम्म पब्लिक बस लाग्ने रहेछ भन्ने थाहा पाइयो । गाउँको नाम डुकुछाप । त्यहाँबाट पश्चिमतर्फ मोडिएको बाटैबाटो हिंडेपछि फर्सी डोलको पक्की पुलबाट पर पुगेकी बागमतीलाई यो फाँटमा फेरि भेट्यौं । बागमतीको रुप उस्तै थियो कालो र फिंज युक्त । 

    एकछिनमा नै बागमती पश्चिमतिर मोडिइन् । हाम्रो बाटो चाहिं बागमती छोडेर उकालो लाग्यो । केहीबेर स्यां स्यां गर्दै उकालो हिंडेपछि फेरि सानो बजार जस्तो भन्ज्याङमा पुगियो । त्यहाँबाट दक्षिणमा अर्कै संसार देखियो फेरि । कच्ची सडक बायाँतिरको पूर्वतर्फ मोडिएर पाखैपाखा उक्लेर गएको छ । सडकदेखि तल पाखोमै गाउाँघर अनि पश्चिमतर्फ बागमतीसम्म खेतैखेत, बिच बिचमा केही घर । बागमती पारिको टारमा रातो जस्ताको छाना भएका सेता भुइतले घरहरु । अघि छोडेको भन्दा रसिलो र हरियो सानो उपत्यका थियो । 

    हामी पुगेको भन्ज्याङको छेउमा केही सिमेन्टेड आधुनिक घर, केही पसल । दिवाकरले एक जनालाई सोध्यो, ‘कटुवाल दह कहाँ पर्छ दाजु ?’ ‘ऊ त्यो थुम्कोदेखि उतापट्टि त हो नि’, अपरिचितको जवाफ । ‘यहाँबाट कति समय लाग्छ ?’ मैले अर्को प्रश्न तेस्याएँ । ‘सडकै सडक गएत धेरै समय लाग्छ । तपाईहरु अलि माथि गएर अर्को बाटो ओर्लिनुस् । अनि झुलुंगे पुल तरेर व्यारेक नजिकबाट जानुहोस् १५ मिनेटमा पुग्नुहुन्छ’, उनको सटिक जवाफ । ‘यो ठाउँको नाम के हो नि दाइ ?’ फेरि प्रश्न । ‘डुकुछाप’ छोटो उत्तर । उनलाई धन्यवाद दिँदै हामी बाटो लाग्यौं ।

    अलिक अगाडि बढेपछि गाउँतिर अघिका दनुवार दाइले भनेको छोटो बाटो खोज्न थाल्यौं हामी । उत्तरकै क्रममा उनले आफूलाई दनुवार बताएका थिए । एक ठाउँमा मुल सडकबाट ओर्लन सकिने खुलाठाउँ ‘बाटो चाहिं होइन’ देखियो । भर्खर ताछेको भिरालो ठाउँबाट ओर्लिन थालें म । माथिको घरबाट जनाना आबाज आइरहेको थियो ‘त्यहाँ बाटो छैन है ।’ वास्ता नगरी खुरुर्र ओर्लिएं म । साथी पछाडि आउँदैछ भन्ने थियो । उ त भिरालो बाटोमा असन्तुलन भएर हुत्तिएर अगाडि लडेछ । तर लुगामा धुलो लाग्नु बाहेक चोटपटक केही लागेनछ । 

    केही खुला र केही प्लास्टिकका टनेल भएका खेतका कान्ला कान्ला हिंडिरह्यौं हामी अलि पर रहेको बागमतीको झोलुंगे पुललाई तारो बनाएर । कुबाटो हिंडिरहेको हुनाले फर्किनु पर्ने हो कि भन्ने डर पनि थियो । कान्लो बाटो हामफाल्दै जाँदा एउटा पंधेरोमा पुगेपछि ढुक्क भइयो । 

    पश्चिमको भिरालो ठाउँबाट एउटा खोला झरेको थियो । ‘बुझिस् यो दक्षिणकालीबाट आएको खोला हुनुपर्छ ।’ मैले अडान पूर्वक अनुमान लगाएँ । ‘त्यस्तै लाग्यो मलाई पनि ।’ उसले समर्थन गर्यो । 

    पंधेरामा आइमाई केटाकेटी लुगा धुंदै थिए । पंधेराको पूर्वतिरबाट पैदल बाटो आएको रहेछ । ‘हामी ती दनुवार दाइले भनेको ठाउँबाट ओर्लेको भए यहीं आइपुग्ने रहेछौं’, दिवाकरले अन्दाजलाई तर्कको रुपमा अघि सार्यो । ‘हो रहेछ’, मैले पनि अन्दाजकै भरमा सहमति जनाएँ । हामी झोलुंगे पुलमा पगिसकेका थियौं । तल बागमती पश्चिम बाट पूर्वतिर बगिरहेकी थिइन् उही कालोपना र फिंज बोकेर । नदीमा ढुंगा हरु भने ठूल्ठूलै देख्न थालिएको थियो । हिंड्ने ठाउँमा काठको फलेक र बार चाहिं फलामको थियो पुरानो झोलुँगेपुलको । 

    पुल पार गरेपछि फराकिलो टार खेत देखा पर्यो । त्यही टारखेतमा थियो नेपाली सेनाको मख्खुबेशी  व्यारेक । अन्दाजको भरमा खेतको आली आली बाट हिंडिरह्यौं । बल्ल एकजना किसान भेटिए । ‘कटुवाल दह जाने बाटो कुन हो ?’ दिवाकरको प्रश्न । ‘यही हो’, उसको उत्तर । ढुक्कले अगाडि बढ्यौं केही उकालिंदै गएको बाटोमा ।

    थोरै उक्लेपछि अर्कै संसार देखियो, केहीसम्म परेको घांसे मैदान अनि उत्तरदक्षिण गाडी मार्ग, त्यो भन्दा पर दक्षिणकालीको फैलिएको डांडो । बाटोबाट उत्तरतिर लागे मख्खु बेसी व्यारेकको गेटमा पुगिने, दक्षिणतर्फ लागे कटुवाल दह । बाटो काटेर उकालो लागे दक्षिणकाली पुग्न बेर थिएन । हामी बाटैबाटो दक्षिणतर्फ लाग्यौं । पश्चिमको भिरालो ठाउँबाट एउटा खोला झरेको थियो । ‘बुझिस् यो दक्षिणकालीबाट आएको खोला हुनुपर्छ ।’ मैले अडान पूर्वक अनुमान लगाएँ । ‘त्यस्तै लाग्यो मलाई पनि ।’ उसले समर्थन गर्यो । 

    मलाई पनि डरलाग्छ झोलुंगे पुलसँग त । हल्लिने भएर पनि होला । पाल्पाको रीडी बाट स्याङ्जा मा पर्ने महादेव स्थान दर्शन गर्न पार गर्नुपर्ने कालीगण्डकी माथि को झोलुंगे पुल मा खूब डर लागेथ्यो मलाई ।

    थुप्रै महिलाहरु खोलामा नुहाउँदै लुगा धुंदै गरेको देखियो । हामी अगाडि बढिरह्यौं । बागमती बायाँतिर तल खोंचबाट बगिरहेकी थिइन् । अगाडि बायाँतिर नै एउटा थुम्को र त्यसमाथि सानो मन्दिर पनि थियो । हाम्रो विपरीत दिशातिरबाट आइरहेको एउटा टिपर हामीभन्दा केही पर रोकियो । टिपरका ड्राइभर र उनका साथी ओर्लिए । ‘कटुवालदह कता हो’ कोहि भेट्ने वित्तिकै दिवाकरले गर्ने प्रश्न । ‘यही हो नि फास्ट ट्र्याक’ हामी उभिएकै बाटोतिर इशारा गर्दै आएको उत्तर । उनीहरु कटुवाल दह माथिको झोलुंगे पुलतिर अगाडि बढे ।

    अघि आएको बाटो नै नेपाली सेनाले निर्माण गर्ने जिम्मा पाएको फास्ट ट्रयाक भन्ठानिरहेका थियौं हामी दुबैले । तर हैन रहेछ । हामी अहिले हिंडिरहेको बाटो नै रहेछ फास्ट ट्र्याक । खोकनाको फांटबाटआएको फास्ट ट्र्याक फर्सीडोल को पक्की पुलबाट फेरि फर्पिङ पट्टिबाट बागमती किनारै किनारै बनेको रहेछ भन्ने अन्दाज गरें मैले । 

    गोकर्ण, गौरीघाट, चोभारमा जस्तै दुईतर्फका पहाड बीचको चट्टान को चेपबाट झोलुंगे पुल मुनि केही डरलाग्दो गरी रह परेर बगेकी रहिछन् बागमती । त्यही रह परेको भागलाई कटुवाल दह भनिएको रहेछ । कहाँ पाउनु र त्यहाँ फराकिलो सङ्लो पानीको मनमोहक दह ? दिवाकर टिपरका चालकहरुसँग पछि पछि लागेर झोलुंगे पुल तर्यो । म चाहिं झोलुंगे पुलको छेउमा कटुवाल दह को फोटो खिच्नमा अल्मलिएँ एकछिन् । 

    दिवाकर डराउँदै डराउँदै पुलमा हिंडिरहेथ्यो । उसलाई झोलुंगे पुल तर्न डर लाग्ने कुरा मलाई पटक पटक भनिसकेको छ । ‘फर्पिङ्बाट जान सजिलो हुन्थ्यो, झोलुंगे पुल तर्नुपर्छ भनेर बुङ्मती तिरबाट आएको । तर झोलुंगे पुल तर्नै पर्यो ।’ उसले मलाई सुनाइ सकेको थियो अघि नै । 

    मलाई पनि डरलाग्छ झोलुंगे पुलसँग त । हल्लिने भएर पनि होला । पाल्पाको रीडी बाट स्याङ्जा मा पर्ने महादेव स्थान दर्शन गर्न पार गर्नुपर्ने कालीगण्डकी माथि को झोलुंगे पुल मा खूब डर लागेथ्यो मलाई । निकै हाइटमा छ त्यो पुल । यो पुलको बीचमा पुगेपछि मलाई पनि डर लाग्यो तल रह परेको कटुवाल दह देखेर ।

    पारी पुग्यौं । घांसे मैदान, ठूला ठुला रुख भएको रमणीय ठाउँ रहेछ । जस्ताको छाप्रे चिया पसल पनि रहेछ । टिपर चालक भाइहरु त्यहिं चिया पिउँदै थिए । हामीचाहिं मछिन्द्रनाथको रथयात्रा शुरु गरिनु अघि पूजा गरिने तीर्थ मा दर्शन गर्न भनेर बागमती किनारतिर मोडियौं । ढुंगे सिंढीको बाटो ओर्लिएर  अलि तल बगिरहेको बागमतीको किनारबाट गारोे उठाएर बनाइको ढलाने बरण्डामा पुग्यौं । 

    बरण्डाको पश्चिमतर्फको भित्तामा पाँच औंलायुक्त हातको प्रस्तर मूर्ति राखिएको थियो । अघि झोलुंगे पुलबाट यता मोडिंदा करुणामय मन्दिर जाने बाटो भनेर सानो मार्गदर्शक संकेत राखिएको थियो । तर यो हातको पंजा मूर्ति को तल चाहिं संकटाको हात भनेर कुंदिएको थियो । एउटा चार औंला मात्रै भएको सानो आकारको हात पनि थियो । के कसो हो भनेर सोध्ने मानिस पनि कोही भेटिएनन् । 

    नजीकै झुन्ड्याइएको घन्टी, साना साना मूर्तिहरु थिए । अबीर–केशरी को अवशेष देखिन्थ्यो मूर्तिहरू मा । हामीले पनि पालै पालो दर्शन गर्यौं संकटा माताको । अगाडि बगिरहेकी बागमतीमा फिँज भए पनि कालोपना कम देखियो । झोलुंगे पुल मुनि धमिलो कटुवाल दहमा पनि अली अली फिंज थियो । 

    कुनै जमानामा कोही कटुवाल थरका व्यक्ति वागमतीको यो रहमा पौडी खेल्न पस्दा दुर्घटना भएर कटुवाल दह भन्न थालिएको हो कि भन्ने लाग्यो मनको एक कुनामा । त्यस्तो भएको नहोस् । नेपाल भाषामा क्वः दुवाः दह भन्ने गरिंदो रहेछ । दिवाकरबाटै थाहा पाएं । उसले पनि टोलकै एक नेवार साथीसँग सोधेर थाहा पाएको भन्थ्यो । 

    रातो मच्छिन्द्रनाथको रथ यात्रा शुरु गर्नु अघिको विशेष तान्त्रिक पद्दतीको पूजामा यही कटुवाल दहको जल चाहिने रहेछ । त्यसको लागि पूजारी का परिवारका महिला अथवा जोसुकैले विधिपूर्वक घडामा जल भरेर लैजाने चलन रहेछ भन्ने युट्युवमा कटुवाल दह को बारेमा बनाइएका बृत्तचित्र हेरेर मात्रै थाहा पाएं । त्यस्तो फोहर पानी पनि भगवानको पूजाको लागि प्रयोग गर्नुपर्ने वाध्यता छ आजभोलि ।

    हामीले कटुवाल दहलाई पृष्ठभूमि पारेर पालैपालो फोटो खिच्यौं । खोलामा ओर्लिएर दहमा जाने बाटो हामी भएको संकटाको थानपट्टिबाट थिएन । पारिपट्टिबाट चाहिं थियो । पारिपट्टि जानलाई फेरि झोलुंगे पुल तर्नुपर्थ्यो । फर्क्यौं हामी झोलुंगे पुल नजिकै । त्यहाँको फराकिलो चौर, रुखहरुले अनि चिसो बतासको झोंक्काले खुब आनन्द आउँदै थियो । 

    दुईतिर पहाडको खोंचबाट बागमती आफूले लिई आएका काला मैला पदार्थहरु छोड्दै छोड्दै निरन्तर बगिरहेकी थिइन् । दक्षिणतिर हरियो खुला उपत्यका जस्तो रमणीय स्थानबाट आइरहेकी थिइन् तिनै बागमती । हामीले चौरमा उभिएर केही फोटो खिच्यौं । अनि फरक बाटोबाट फर्कन थाल्यौं । 

    फेरि झोलुंगे पुलबाट फर्कनु साथी दिवाकरलाई कष्टकर नै थियो । नयां बाटोबाट फर्किउँ न त भन्ने पनि लागेको थियो मलाई पनि । हामी फास्ट ट्र्याककोबाटो छोडेर डुकुछाप बाट आएको धुलो बाटो नै रोज्यौं जुन हामीले दनुवार दाइ भेटेपछि हिंड्न छोडेका थियौं । एकछिन् नयाँ बाटोमा रमाइलै लाग्यो । तर बालुवा रोडा बोकेका टिपरहरु धुलो उडाउँदै दिक्क लगाईरहेथे । 

    बाटोमा पर्ने संकटा देवीको दर्शन पनि गर्यौं ताल्चा लगाइएको मन्दिरको ढोकाको प्वालबाटै भए पनि । जंगलका बीचमा क्रसर उद्योग सन्चालन गरिएको रहेछ । त्यहाँबाट पनि प्रशस्त धूलो उडेर बनका रुखपात सवै धुलोले ढाकिएका थिए । धुलो खाँदै घुम्ती बाटो बाट उकालो चढ्दै बल्ल पहाडको हाइटमा पुग्यौं । 

    भोक र तिर्खाले सताइसकेको थियो । खाना खाएर घरबाट हिंडेदेखि यहाँ आइपुग्दासम्म हामीले पानी पनि पिएका थिएनौं । एउटा गौंडो काटेर फांट देखिने थालेपछि कहाँ बसौं जस्तो भैरहेको थियो । बाटै छेउमा जस्तै जस्ताले बनाइएको सानो पसल देखियो । यसो हेरेको ३४–३५ बर्षकी महिला बाहिरपट्टि जुठेल्नुमा खत्र्याकखुत्रुक गर्दै रहिछन् । ‘चिया खान पाइन्छ बहिनी ?’ दिवाकरले आसापुर्ण तवरले सोध्यो । ‘पाइन्छ ।’ भन्ने जवाफ संगै २ कप अर्डर गरिहाल्यो । 

    हामी भित्र छिरेर खुइय गर्दै थाकेको शरीरलाई बेन्चीमा थचार्यौं । साहुनी बहिनी चिया बनाउन छिरिन् । निशा देसार रहेछ उनको नाम । ललितपुरको चापागाउँबाट बिहाबारी भएर यहाँ आइपुगेकी रहिछन् । यो ठाउँको नाम हात्तीगौंडा रहेछ भन्ने पनि उनीबाटै थाहा पाइयो । 

    ‘निशा देसार’ भन्ने गायिका छिन् नि, तपाईंलाई थाहा छ ?’ मैले भनें । ‘थाहा छ, वहाँ पनि चापागाउँकै हो, हाम्रै दिदीबहिनी हुन्’ जवाफ दिँदा उनि उत्साहित थिइन् । किन उस्तै नाम राख्नुभएको त भनी सोध्न मन लागे पनि चुप लागें । १ बोतल पानी, १–१ कप चिया र १–१ वटा बनले पेटलाई चुप लगाएर बाटो लाग्यौं । घुम्न भनेर निस्किएका थियौं बाटोले मनग्गे घुमाइरहेको थियो । दिन ढल्किँदै थियो । हावा उही गतिमा बहँदै थियो । दिनको ४ बजिसकेको थियो । 

    हामी कल्पनाविपरीतको कटुवाल दहलाई मनको सम्झनामा राखेर ढुक्क साथ फर्किंदै थियौं । जस्तो भए पनि कटुवाल दह पुगेर आयौं नि त । प्राकृतिक रुपमा सोचेजस्तो सुन्दर नदेखिए पनि कयौं नेपालीहरुको आस्था को केन्द्रको रुपमा रहेको अनि ऐतिहासिक, सांकृतिक एवं आध्यात्मिक सुन्दरता बोकेको  बागमतीको एउटा रुप कटुवाल दह ।