७ जेठ २०८१ सोमबार | 20 May 2024 Mon

शिक्षण पेसा छाडेर पशुपालन



  • आफ्नै खबर
  • २ हप्ता अघि
  • पाठक संख्या ४१
  • दाङ/  दाङको घोराही उपमहानगरपालिका– २ रामपुरनिवासी ३४ वर्षीय गोपाल खनाल ०७३ सालअगाडि शिक्षण पेसामा आबद्ध हुनुहुन्थ्यो । गाउँमै एक बोर्डिङ स्कुलमा पढाउँदै आउनुभएका उहाँ पछिल्लो आठ वर्षदेखि भने शिक्षण पेसा छोडेर कृषिमा रमाइरहनुभएको छ । 

    ‘ग्रिन लक्ष्मी गाई तथा भैँसी फर्म’ स्थापना गरेदेखि उहाँ अरू सबै काम छोडेर यही पेसामा व्यस्त हुनुहुन्छ । ‘शिक्षण पेसा अथवा अन्य कुनै जागिर गर्नुभन्दा आफ्नै व्यवसाय गर्दा आत्मसन्तुष्टि र आम्दानी पनि हुने बुझाइसहित फर्म स्थापना गरेको थिएँ । अहिले यसमै रमाइरहेको छु,’ खनालले भन्नुभयो, ‘कोरोनाको समयमा केही समस्या भए पनि अहिले सहज हुँदै गएको छ । अब त यसैमा अभ्यस्त भइसकेँ ।’

    सुरुवाती दिनमा चार लिटर दुध बेच्ने उहाँ हाल १ सय २० लिटर उत्पादन गरेर बिक्री गरिरहनुभएको छ । त्योमध्ये अधिकांश दुध डेरीलाई बिक्री–वितरण गर्दै आएको बताउने उहाँलाई अहिले बिहान उठेदेखि बेलुकासम्म गाईभैँसीको स्याहारसुसार र दुधको चाँजोपाँजो मिलाउन भ्याइनभ्याई छ । 

    परिवारको सहयोग र आफ्नो मिहिनेतले ४० हजार रुपैयाँबाट सुरु गरिएको व्यवसायमा अहिले ६० लाख रुपैयाँ लगानी पुगेको खनालको भनाइ छ । उहाँले भन्नुभयो, ‘सुरुआती दिनमा व्यवसाय कसरी अगाडि बढ्ला भनेर चिन्ता लाग्ने गथ्र्यो, तर निरन्तर मिहिनेत गरेमा सफलता मिल्दो रहेछ ।’ 

    अहिले मासिक १ लाख रुपैयाँको कारोबार गरिरहेको र वार्षिक करिब ७ लाख रुपैयाँसम्म बचत हुने गरेको उहाँको भनाइ छ । गाईभैँसीका लागि आवश्यक दाना बजारबाट किन्ने गरे पनि घाँस भने आफैँ उत्पादन गर्न थालेदेखि आम्दानीको केही रकम जोगाउन सकिएको उहाँले बताउनुभयो । 

    उहाँ व्यावसायिक पशुपालन र कृषि उद्यम गर्न चाहनेहरूलाई सरकारले सहुलियतका कार्यक्रम ल्याए बिदेसिन चाहने युवालाई पनि स्वदेशमै रोक्न सकिने धारणा राख्नुहुन्छ । किसानका लागि सहुलियतका कार्यक्रम ल्याउन सके धेरैजना उद्यमशीलतातर्फ आकर्षित हुन्छन् भन्ने उहाँको विश्वास छ । 

    डेरीलाई प्रतिलिटर दुध ७० रुपैयाँमा बिक्री गर्नुहुने उहाँको सबैभन्दा ठूलो चित्तदुखाइ आफैँले उत्पादन गरेको दुधको मूल्य निर्धारण प्रक्रियामा संलग्न हुन नपाउनुमा छ । खनालले गुनासो गर्नुभयो, ‘हामीले नाफाघाटा, दुःखकष्ट सहेर उत्पादन गर्छौँ, तर न सरकारले दुधको उचित मूल्य निर्धारण गर्छ न त मूल्य निर्धारण प्रक्रियामा कृषकलाई सहभागी गराउँछ । यसले हामीलाई निराश बनाएको छ ।’ 

    खनालको फर्ममा अहिले २८ वटा गाईभैँसी छन् । उहाँलगायत घोराही उपमहानगरपालिका– २ रामपुर क्षेत्रका किसानबाट दैनिक १ हजार लिटरभन्दा बढी दुध उत्पादन हुने गरेको छ ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?