बिहान, दिनतिर ढल्कँदै थियो । विद्यार्थीहरु भोकाउदै आउँथे । हाफट्याम पछि त प्रायःसबै विद्यार्थीले घरको भान्सा संझिरहेका हुन्थे । अन्तिम कक्षा भएर होला पढाइएको विषयमा ध्यान कमैको मात्र गएको थियो । विद्यार्थीको ध्यान पढाइमा नगएपछि स्वत: उनीहरु बिच हल्ला हुने नै भयो ।
यत्तिकैमा एउटा विद्यार्थी जुरुक्क उठेर भन्यो, ‘सर यस्ले मलाई घोडा भन्यो ।’ अरु विद्यार्थीहरु गलल्ल हासे।
‘ए हल्ला नगर कस्ले भन्या हँ घोडा भनेर उ त मानिस हो’ सरले विद्यार्थीतिर हेर्दै भन्नुभयो ।
‘सर मैले त भोलि घोडेजात्रा भनेको यस्ले घोडा मात्र सुनेछ’ अर्काे विद्यार्थीको स्पष्टीकरण ।
एकातिर कक्षा सरको नियन्त्रणभन्दा बाहिर जान लागेको थियो भने अर्काेतिर मुल सडक छेउको कक्षाकोठा भएकाले ध्वनि प्रदूषणको पनि कमी थिएन ।
कहिलेकाहीँ सडकका कुकुरहरुको लडन्तले पनि पढाइलाई अवरोध गर्न पर्याप्त थियो ।
‘सर हामीलाइै घोडेजात्रा पर्वबारे बुझाइ दिनुस् न ।’ एउटी छात्राले सरसँग गरेको अनुरोध सुनियो ।
‘हुन्छ, आजको क्लास घोडेजात्रा सम्बन्धि नै हुनेभयो’ सरको स्विकारोक्ति ।
‘ल त पहिले तिमीहरुले मलाई घोडेजात्रासम्बन्धी के कति बुझेका छौ भन त’, विद्यार्थीलाई अप्ठेरो पार्ने झटारो ।
‘सर, मैले त टुँडिखेलमा बार्ह पन्ध्रवटा घोडा दौडाइएको देख्या हुँ, यो भन्दा बढी थाहा छैन ।’ विद्यार्थीको सटिक उत्तर ।
‘पाटनमा त सर, एउटा घोडा मात्र कुदाइन्छ’ अर्की छात्राको आवाज ।
‘अनि तिमीहरूले चाहिँ घोडेजात्रा सम्बन्धी के बुझेका छौ ?’ लाष्ट बेन्चतिर बस्नेलाई गुरुको निशाना ।
‘हामीलाई त सर थाहा छैन । हाम्रो तालामाराङतिर त घोडेजात्रा पनि हुँदैन ।’ एक छात्रको भुगोलका कारण भएको अज्ञानता ।
********************
‘ल अब मेरो पालो, तिमीहरु हल्ला नगरीकन सुन ।’ प्रवचन पूर्वको तयारी सुरु ।
कक्षा कोठा तत्काल शान्त भयो । छात्रछात्रामा कौतुहलता अनुहारमा प्रष्ट झल्कन थाल्यो ।
‘काठमाडौंको नेवार समुदायमा घोडेजात्रा परापूर्व कालदेखि स्थापित भएको पर्व हो । हाल, काठमाडौं टुँडिखेलको दक्षिण पूर्वी भागमा एउटा ठूलो रुख थियो । त्यस रुखमा गुरुमापा नाम गरेको राक्षसको बास थियो । त्यो राक्षसले काठमाडौं सहरका बालबालिकालाई खान थालेपछि तन्त्र साधनाद्वारा तात्कालिन तान्त्रिकहरुले राक्षस गुरुमापालाई मारिदिए । यसरी मारिएको राक्षस गुरुमापाले पुनः पिचास भएर फेरि मानिसलाई दुःख दिन थाल्यो ।’
आफ्नो क्षमताभन्दा लामो सास तानेर गुरुले एक पाठ्यांश एकैपटक बनाउनुभयो ।
‘तान्त्रिकहरुको सल्लाह अनुसार घोडाको टाँपद्वारा किचेर जमिनमुनि धसाइ दिएपछि सो पिचास शान्त हुने भएकाले उहिले देखिनै घोडाको टाँपद्वारा त्यो पिचासलाई किची जमिनमा धसाउनका लागि प्रत्येक वर्ष चैत्र कृष्णपक्ष ओैशीको दिन टुँडिखेलमा घोडा कुदाउन थालियो भन्ने किम्बदन्ति रहेको छ ।’
कक्षामा सियो खसे पनि ठुलै आवाज आउने शान्ति छाइरहेको थियो ।
‘यो कार्य राजा प्रताप मल्लको पालादेखि ब्यबस्थित रुपमा मनाउन थालियो । आजभोलि नेपाली सेनाको आयोजना र नेपाल प्रहरी समेतको संलग्नतामा घोडा दौडाउने अनि विभिन्न थरिका घोडचडी कला कौशल प्रदर्शन गरि घोडेजात्रा मनाउछन् ।’ घोडेजात्राको परिचय कथन बाट इतिहासतर्फ मोडियो ।
*********************
‘ट्वाङ.. ट्वाङ..ट्वाङ..ट्वाङ...पालेदाइले घण्टी बजाएर छुट्टी भएको सूचना दिए । सधै जर्याकजुरुक उठि घरतिर लाग्ने विद्यार्थीहरु आ–आफ्ना स्थानमै बसिरहे ।
‘पाटनको घोडेजात्राको विषयमा पनि बुझाइ दिनुस् न सर जहाँ एउटा मात्र घोडा कुदाइन्छ ।’ छात्राले आफ्नो ठाउँको बारेमा जान्ने उत्सुकता पोखिन् ।
‘ल हुन्छ, तिमीहरूलाई भोक त लागेको छैन ?’ गुरुको माया देखियो ।
‘सर, कथाले भोकलाई जित्यो’ लाष्टबेन्चमा बस्ने छात्रले कथाको निरन्तरता माग गरे ।
‘उसोभए लौ सुन अब पाटनको घोडेजात्राको विषयमा बुछाउँछु जहाँ एउटा मात्र घोडा कुदाइन्छ’ कथाले निरन्तरता पाउने भयो ।
‘उहिले सिवसिख्हदेव जस्लाई सिमसिमे राजा पनि भनिन्थ्यो, उनले तबेलामा घोडाको स्याहारसुसार गर्नका लागि ज्यापू समुदायबाट एक जना मानिसलाई जागिर दिएका थिए । चैत्र कृष्णओैशीका दिन राजा बालकुमारीको दर्शन गर्न जानकालागि घोडा लिन तबेलातिर गएछन् ।
काम गर्न खटाइएको ब्यक्ति त मस्तसँग सुतीराखेको टाढैबाट देखेपछि राजालाई रिस उठ्यो र त्यो ब्यक्तिलाई सजाय दिन अगाडि बढेछन् र नजिक पुग्दा पाँचटाउके नागले फणा फिजाएर उक्त ब्यक्तलाई सुरक्षा प्रदान गरिरहेको राजाले देखेपछि अचम्म मानी यो ज्यापू त कामदार नभएर भगवान पो रहेछ भनी दरबारतिर फर्के ।’
‘अनि के भयो सर ?’ कथाको क्लाइमेक्समा पुग्न एक छात्रले हतार गर्यो ।
‘पछि निदाएको ज्यापु बिउझिएपछि उस्लाई अन्य ब्यक्तिले राजा आइ फर्केर गएको कुरा सुनाए । ज्यापु डरायो र दरबारमा गई आफू निदाएकोमा राजासँग माफी माग्यो तर राजाले माफी माग्नु पर्दैन तिमी त भगवान रहेछौ आजैदेखि तिमी घोडामा चढेर बालकुमारीको दर्शन गर्न जाउ म चाहिँ तिम्रो पछिपछि आउछु भने ।’ सरले रसिलो किम्बदन्ति सुनाउनुभयो ।
‘गजब भएछ सर’ एक छात्राको मुखबाट अनायासै प्रतिकृया आयो ।
‘हो त, त्यहीबेला देखि पाटनमा एकल घोडेजात्रा प्रारम्भ भएको किम्बदन्ति पाउछौँ तर ब्यबस्थित रुपमा चाहिँ श्रीनिवाश मल्ल राजाको पालादेखि मनाउन थालिएको हो ।’
घोडेजात्राको बारेमा बुझ्दा बुझ्दै र सुन्दा सुन्दै कक्षा कोठाको ढोकामा दिउँसोको कक्षा पढ्ने विद्यार्थीको भिड बढिसकेको थियो ।
प्रतिक्रिया दिनुहोस