आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

किसानलाई सिधै बजारसँग जोड्ने ‘पैँचो पसल’


  • आफ्नै खबर
  • २०८१ आश्विन ११, शुक्रबार मा प्रकाशित १ साल अघि
  • २ पाठक संख्या
  • काठमाडौं/  गुल्मी छत्रकोट–१ हुँगाका युवराज पाण्डे बिहान झिसमिसेमै तरकारी सङ्कलन केन्द्रमा पुग्नुहुन्छ । केन्द्रमा स्थानीय किसानहरू तरकारी लिएर आइपुग्छन् । पाण्डेको बिहान कुन किसानले कुन तरकारी कति परिमाणमा ल्याए ? त्यसको मूल्य कति हो ? निर्धारण गरेर पठाउँदैमा बित्छ ।

    किसानलाई आफूले ल्याएको तरकारीबाट कति कमाइ भयो भन्ने जानकारी घर नपुग्दै मोबाइलमा आइपुग्छ । कति तरकारी बिक्री गरेछु भन्ने हिसाब राख्नै पर्दैन । पाण्डेका अनुसार केन्द्रमा दैनिक औसतमा पाँच क्विन्टल तरकारी आउँछ ।

    पैँचोको नारा छ ‘बसे पनि सहर गाउँकै खाने रहर’ । गुल्मीको बलेटक्सार गाउँबाट सुरु गरिएको पैँचो पसल यतिबेला देशभर विस्तारित हुने क्रममा छ ।

    सङ्कलन भएका तरकारी लिन केन्द्रमा सवारीसाधन आइपुग्छ । स्थानीय किसानका लागि दैनिक उपभोग्य सामान पनि सङ्कलन केन्द्रमै उपलब्ध हुन्छ । किसानले कति मूल्यको तरकारी बिक्री गरे र त्यहाँबाट कति मूल्यको सामान लिएर गए भन्ने जानकारी पनि मोबाइलमै आउँछ ।

    किसानलाई सामान उपलब्ध गराउँदै उनीहरूको तरकारी खरिदलगायतसम्मको कामको व्यवस्थापन ‘पैँचो पसल’ले गरिदिएको छ । आफूअनुकूलको सेवा सहजै प्राप्त हुँदा किसान पनि खुसी छन् ।

    ग्रामीण क्षेत्रमा यो प्रचलन कम हुँदै गए पनि जीवित भने छ । आफूलाई चाहिएको सामग्री एकापसमा सरसापट गरेर लिने र काम चलाउने प्रक्रियालाई पैँचो भनिन्छ । त्यस्तै शैलीमा व्यवसायी धु्रव न्यौपानेलगायतले पैँचो पसलको अवधारणा अगाडि सार्नुभएको हो । 

    पाण्डे यो अभियानमा जोडिनुभएको १० वर्ष भयो । गुल्मी छत्रकोटका अगुवा किसानको परिचयसमेत बनाउनुभएका पाण्डे आफैँले पनि वार्षिक १० लाख रुपैयाँ बराबरको तरकारी बिक्री गर्नुहुन्छ । उहाँले १२ रोपनी जग्गामा तरकारीखेती गर्नुभएको छ । 

    गोलभेँडा, भिन्डी, बोडी, रातो मुला, तीतेकरेला बारीमा फलेका छन् । बजारको कुनै चिन्ता छैन । किसानलाई प्रत्यक्ष रूपमा उपभोक्तासँग जोड्ने र सरल मूल्यमा ताजा तरकारी एवं कृषि उपज उपलब्ध गराउने उद्देश्यका साथ सुरु भएको पैँचो पसलको अवधारणा यतिबेला देशव्यापी हुने क्रममा छ । 

    उक्त अवधारणामा जोडिएका किसानलाई मल, बीउको प्रबन्ध गर्नेदेखि कृषि प्राविधिक उपलब्ध गराउने कामसमेत गरिएको छ । किसानले कुनै समस्या परे, पशुचौपायामा कुनै रोगव्याधी लागे प्राविधिक पुग्छन् र समाधानको उपाय सुझाउँछन् । यो अवधारणाबाट लाभान्वित हुनेमा गुल्मीकै सरोज राना पनि हुनुहुन्छ ।

    वैदेशिक रोजगारीमा पाएको दुःखकष्ट र हण्डर सबै बिर्सेर आफ्नै थलोमा फर्किएका रानाको दैनिकी यतिबेला तरकारी स्याहार्दै बित्ने गरेको छ । उहाँले सात रोपनी जग्गामा तरकारीखेती गर्नुभएको छ । 

    ‘हामीलाई यसले धेरै फाइदा भएको छ । उत्पादित तरकारी लिन गाउँमै गाडी आइपुग्छ । बिचौलियाले खाइदेला कि, कम मूल्यमा बेच्नुपर्यो कि भन्ने कुनै गुनासो छैन’, उहाँले भन्नुभयो, ‘किसानले उत्पादन गरेको हरिया सागसब्जी उपभोक्ताको भान्छामा सहजै पुगेको छ । यो भन्दा खुसीको कुरा अरु के हुनसक्छ र ?’

    उहाँको बारीमा यतिबेला सिमी, गोलभेँडा फलेका छन् । एक हजार बिरुवा सयपत्रीका छन् । तिहारमा सयपत्रीले राम्रो मूल्य पाउने आशामा रहनुभएका राना बन्दा, काउली मुला, गाँजर पनि लगाउने तयारीमा हुनुहुन्छ । इत्तेहाद एयरलाइन्सको रोजगारी भनेर साउदी अरब पुग्नु भए पनि ठेकेदारको काम गर्दा उचित पारिश्रमिक नपाएपछि घर फर्केर उहाँले सुरु गर्नुभएको तरकारीखेतीले गाउँमै केही गर्न सकिन्छ भन्ने आत्मबल बढाइदिएको छ ।

    केन्द्रमा रानाजस्तै ३० जना किसान परिवारले तरकारी उपलब्ध गराउँछन् । गुल्मी सत्यवतीका लोकबहादुर कुँवर पैँचोको अवधारणा राम्रो भए पनि स्थानीय सङ्कलन केन्द्रका मानिसको व्यवहार किसानमैत्री नभएको गुनासो गर्नुहुन्छ । समयमा पैसा नपाएको गुनासो गर्नुहुने कुँवर पनि तरकारी पैँचोलाई नै बिक्री गर्नुहुन्छ । 

    उहाँको सुझाव छ, ‘किसानले प्राप्त गरेको पैसा सहज रूपमा पाउने वातावरण बनाइदिएहुन्थ्यो भन्ने लाग्छ ।’ घरपरिवारलाई चाहिने दाल, चामल तथा अन्य उपभोग्य वस्तु घरमै आइपुग्ने गरेको बताउनुहुने कुँवर किसानलाई थप राहत दिनेगरी योजना ल्याउन पैँचोका अभियन्तालाई आग्रह गर्नुहुन्छ ।

    अकबरे खुर्सानी, मरौटी, अमलाले पाएको बजारले असाध्यै खुसी दिएको छ । मरौटी चिकेन त ब्राण्ड नै बनिसकेको छ । पाँचतारे होटलका रूपमा अग्रसर पौवामा मरौटी चिकेनको विशेष ‘मेन्यू’ नै राखिएको छ ।

    छत्रकोट–४ रुक्सेका रामकृष्ण कँडेलको बारीमा तीते करेला, घिरौला, लौका, सिमी, कागती फलेका छन् । उहाँ सो गाउँको अगुवा किसानमात्रै नभई सङ्कलन केन्द्रको प्रमुखसमेत हुनुहुन्छ । औसतमा दैनिक सात क्विन्टल बराबरको तरकारी उहाँको सङ्कलन केन्द्रमा जम्मा हुने गरेको छ । 

    उहाँ सबै किसानले गाउँघरमै उचित मूल्य पाएको दाबी गर्नुहुन्छ । ‘मलाई सुरुमा यो नहुने कामजस्तो लाग्थ्यो, पछि बुझ्दै जाँदा सहीजस्तो लाग्यो । पछि तरकारीखेती गर्न थालेँ, गाउँमै सङ्कलन केन्द्र पनि स्थापना भयो’, उहाँले भन्नुभयो, ‘अहिले सङ्कलन केन्द्रको जिम्मेवारी नै लिएको छु । आफ्नो बारीमा फलेका तरकारी पनि ल्याउँछु । अरु किसानको पनि सङ्कलन गर्छु ।’

    हरेक दिन तरकारी जोख्ने, हिसाब राख्ने काम गर्ने गरेको जानकारी दिँदै कँडेलले यो अवधारणाले किसानलाई राहत प्रदान गरेको बताउनुभयो । किसानले सबै जानकारी मोबाइलमा नै पाउने भएकाले पनि यो प्रणाली पारदर्शी रहेको उहाँको बुझाइ छ । 

    हरेक तीन महिनामा किसानले आफूले बिक्री गरेको तरकारी र ल्याएको सामानको आफ्नो हिसाब पाउने गरेका छन् । यो सामान्य नियम भए पनि आवश्यक पर्दा किसानले जुनसुकै बेला पैसा पाउँछन् । तरकारी बिक्री गरेको पैसा बचत र किसानलाई राहत होस् भनेर यस्तो अवधारणामा काम गरिएको कँडेलको भनाइ छ । 

    ‘बजारमा एकाध दिन बढी मूल्य पाए पनि किसानले अन्यत्र लैजाँदैनन् । पैँचोले हरेक दिन तरकारीको मूल्य निर्धारण गर्छ । मूल्य निर्धारण गर्ने विधिमा माग र आपूर्तिलाई केन्द्रमा राखेर तथ्याङ्क विश्लेषण गरिन्छ । तय भएको मूल्यका आधारमा किसानलाई उपलब्ध गराइन्छ’, उहाँले भन्नुभयो, ‘किसानले पैसा नपाएको भन्ने कुनै जायज गुनासो सुन्नुपरेको छैन ।’

    पैंचो बजार प्रमुख न्यौपानेका अनुसार हरेक दिन १२ बजे अर्को दिनको मूल्य निर्धारण गरिन्छ । उहाँ भन्नुहुन्छ, ‘हामीले विशेष प्रकारको सफ्टवेयर सञ्चालनमा ल्याएका छौँ । त्यसबाट किसानले आफ्नो हिसाब मोबाइलमा नै जानकारी पाउँछन् । कृषि प्राविधिक, पशु प्राविधिक उपलब्ध गराएका छौँ । हामीले किसानलाई केन्द्रमा राखेका छौँ । किसान सबल हुँदै जाँदा हाम्रो व्यवसाय आफैँमा विस्तार हुन्छ ।’ 

    व्यवस्थित तवरले सात सय ५३ वटै स्थानीय तहमा सङ्कलन केन्द्र स्थापना गर्ने र किसानलाई विश्वास दिलाउने हो भने कृषिबाटै आत्मनिर्भर बन्न सकिने

    स्वदेशमा नै उत्पादित मकै, चुक, आँपको अचार, पिठो, हरियो सागसब्जी, अमला, निगुरो, केराको बुङ्गोजस्ता कृषि उपज स्वदेशी बजारमा अलावा विदेशी बजारमा समेत बिक्री गर्दै आएको छ । यसबाट विदेशी मुद्रा स्वदेशमा भित्र्याउन पनि सहयोग पुगेको उहाँको भनाइ छ । 

    यस्तै अकबरे खुर्सानी, मरौटी, अमलाले पाएको बजारले असाध्यै खुसी दिएको छ । मरौटी चिकेन त ब्राण्ड नै बनिसकेको छ । पाँचतारे होटलका रूपमा अग्रसर पौवामा मरौटी चिकेनको विशेष ‘मेन्यू’ नै राखिएको छ ।

    स्थानीय उद्योगले अकबरे खुर्सानी लिने गरेको छ । अमेरिका, जापान, युरोपका विभिन्न देशका अलावा भारतका विभिन्न सहरमा समेत पैँचो उद्योगबाट उत्पादित सामग्री पुगेका छन् । यस्तै तामा, आँप, सुन्तला, हर्रोबर्रोको पनि उचित बजार विस्तार गरिएको छ । 

    गुल्मीको पल्लीकोटका किसानले मात्रै रु एक करोड बराबरको आँप, सुन्तला, हर्रोबर्रो बिक्री गरेको जानकारी दिँदै उहाँले व्यवस्थित तवरले सात सय ५३ वटै स्थानीय तहमा सङ्कलन केन्द्र स्थापना गर्ने र किसानलाई विश्वास दिलाउने हो भने कृषिबाटै आत्मनिर्भर बन्न सकिने बताउनुभयो । 

    आगामी १० वर्षभित्र १०० वटा कृषि बजार स्थापना गर्ने लक्ष्य अगाडि सारेको पैँचोले ‘किसान कल सेन्टर’ पनि सञ्चालन गर्ने तयारी गरेको छ । टेलिफोनबाटै किसानलाई आवश्यक राय, सल्लाह दिने र बजार विस्तार, विविधिकरणमा ध्यान दिन लागेको उहाँले उल्लेख गर्नुभयो ।

    पैँचोको नारा छ ‘बसे पनि सहर गाउँकै खाने रहर’ । गुल्मीको बलेटक्सार गाउँबाट सुरु गरिएको पैँचो पसल यतिबेला देशभर विस्तारित हुने क्रममा छ । राजधानी काठमाडौँमा समेत पसल सञ्चालनमा ल्याइएको छ । 

    प्रमुख न्यौपानेले भन्नुभयो, ‘हामीसँग अहिले हजारौँ किसान प्रत्यक्ष जोडिनुभएको छ । हजारौँ किसान र उपभोक्ता हाम्रो सेवाबाट लाभान्वित हुनुभएको छ । सिधै किसानसँग जोडिएर कृषिमा आधारित उद्योग सञ्चालन गरिएको पैँचो नै नेपालको पहिलो उद्योग हो भन्ने हाम्रो दाबी छ ।’

    सहरिया उपभोक्तालाई पहाडी हावापानीमा उत्पादित स्वच्छ, स्वस्थ र अग्र्यानिक तरकारी, फलफूल र खाद्य सामग्रीसमेत पैँचो बजारमार्फत उपलब्ध गराउँदै आइएको छ । गुल्मी, पाल्पा, जुम्ला, रुकुम, कालिकोट, रोल्पा र अर्घाखाँचीमा अहिले पनि ५० बढी सङ्कलन केन्द्र छन् । 

    आगामी दिनमा यो सेवा बागलुङ, पर्वत, स्याङ्जालगायतमा विस्तार गर्ने उद्देश्य छ । पैँचोले विभिन्न प्रयोजनका लागि जेटिए, माटोविज्ञ र पशुविज्ञ यतिबेला पहाडी क्षेत्रमा उत्पादन हुने तरकारी तथा फलफूल र पशुजन्य खाद्य उत्पादन बढाउने सम्बन्धमा किसानका घरघरमा खटाएको छ । 

    -रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु